पोखरा महानगरपालिकाको योजना तर्जुमा सम्बन्धी तयारी बैठक सुरु
पाेखरा | बैशाख ३०, २०८०
पोखरा: पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक ३३ वटै वडाहरूमा गर्ने गरी सुरु गरेको छ ।
अभियानको रूपमा महानगरका सबै वडाहरूमा गरिने यस प्रकारको तयारी बैठक नगरप्रमुख धनराज आचार्यले वडा नं।२५ बाट सुरु गर्नुभएको हो ।
पोखरा महानगरपालिका वडा नं. २५ मा आयोजित तयारी बैठकमा बोल्दै प्रमुख आचार्यले आगामी आवका लागि योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताको आधारलाई विशेष ख्याल गर्न अनुरोध गर्नुभयो । “वडा स्तरमा योजनाहरू तर्जुमा गर्दा सम्बन्धित वडाको आवश्यकता र प्राथमिकता पहिलो सर्त हुनुपर्दछ, उहाँले भन्नुभयो, वडामा रहेका सबै सरोकारवालाहरूको भेला मार्फत विधिसंगत तवरले तर्जुमा गरिएका योजनाहरू मात्र वडाको योजना बैङ्कमा सूचीकृत गरिनु पर्दछ ।”
योजना तर्जुमाका नाममा धेरै समय खेर जाने र परिणाममुखी योजनाहरू नबन्ने विगतका कमजोरीहरूलाई सुधार गर्दै अव चार वर्षका लागि आवश्यक योजनाहरू एकै पटक तर्जुमा गरी वडा वडामा योजना बैङ्क तयार गरिने उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा सम्पन्न गर्न सकिने र स्रोतको सुनिश्चितता हुने योजनाहरू मात्र छनौट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय विकासको दीर्घकालीन सोचलाई ध्यानमा राखी योजनाहरू निर्माण गर्ने बेला आएको प्रमुख आचार्यले बताउनुभयो ।
महानगरपालिकाका सबै वडाहरूको समुचित र न्यायोचित विकासका लागि वर्तमान नेतृत्व तत्पर रहेको बताउँदै उहाँले महानगरमा विभिन्न दातृ निकायहरुको सहयोगमा २३ अर्ब बढीको लगानीमा नयाँ परियोजनाहरू सञ्चालनको तयारीमा रहेको बताउनुभयो । सुस्त प्रायः बनेको पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगको समन्वयलाई महानगरको नयाँ नेतृत्वले तदारुकताका साथ पुनर्स्थापित गरी अरबौँ रुपैयाँ लगानीको वातावरण तयार गरेको उहाँले बताउनुभयो ।
समृद्ध महानगर निर्माणका लागि नयाँ बन्ने योजनाहरू समेत परिणाममुखी बन्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार वडामा हुने योजना छनौटको प्रक्रियालाई सहभागितामूलक बनाई सबै नागरिकहरूको पहुँच स्थापित गर्ने उद्देश्यले वडा वडामा यस्तो प्रकारको कार्यक्रम गर्न लागिएको हो । समग्र पोखराको समुचित विकास नयाँ नेतृत्वको स्वार्थ हुने भन्दै उहाँले यस अभियानमा हातेमालो गर्न महानगरवासीलाई आग्रह समेत गर्नुभयो ।
वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरूले आफ्नो वडाका योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा गर्ने बताएका छन् । सो क्रममा आवश्यक विधि, प्रक्रिया र पद्धतिको पूर्ण पालना गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
तयारी बैठकमा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी लगायत स्थानीयहरूले नागरिकको आधारभूत आवश्यकता, भौतिक विकास, विपद् जोखिम न्यूनीकरण, पर्यटन विकास, कृषि, सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणका लागि मानव संसाधनको विकास लगायतका विषयमा योजनाहरू केन्द्रित गरिनु पर्ने बताए ।
वडा नं. २५ बाट सुरु भएको योजना तर्जुमा तयारी बैठक हालसम्म वडा नं. २४ र ५ मा समेत सम्पन्न भैसकेको छ । महानगरका अन्य वडाहरूमा यो कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

